सगरमाथा चुचुरोमा ३२५ आरोही
काठमाडाैं | जेठ ५, २०८०
काठमाडौं: वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३२५ जनाभन्दा बढीले आरोहण पूरा गरे पनि यकिन तथ्याङ्क आउन बाँकी छ ।
“गत वर्षभन्दा एक साता ढिलो गरी सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो एक सातामा उल्लेख्य आरोही चुचुरोमा पुगेका छन्,” उहाँले भन्नुभयो, “बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ ।” निर्देशक खतिवडाले हालसम्म मौसमले साथ दिएको र पुनः मौसममा सुधार आएसँगै बाँकी आरोही चुचुरोतर्फ लाग्ने बताउनुभयो । उहाँले आरोहणका लागि खुला गरिएका अन्य अधिकांश हिमालमा समेत यस वर्ष आरोहण राम्रो भएको जानकारी दिनुभयो ।
बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसअघि २०७६ जेठ ९ गते सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए । निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।
विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

